दफा २९
प्यारोलमा राख्न सकिने
(१) एक वर्षभन्दा बढी कैद सजाय पाई कैद सजायको दुई तिहाई अवधि भुक्तान गरिसकेको र राम्रो आचरण भएको कसूरदारलाई सम्बन्धित”प्रोवेशन तथा प्यारोल बोर्डको” सिफारिसमा जिल्ला अदालतको न्यायाधीशले प्यारोलमा राख्ने आदेश दिन सक्नेछ ।
तर देहायका कसूरदारलाई प्यारोलमा राख्न सकिने छैनः
(क) जन्मकैदको सजाय पाएको,
(ख) भ्रष्टाचारको कसूरमा सजाय पाएको,
(ग) जबरजस्ती करणीको कसूरमा सजाय पाएको,
(घ) मानव बेचबिखन तथा ओसार पसार सम्बन्धी कसूरमा सजाय पाएको,
(ङ) सङ्गठित अपराध सम्बन्धी कसूरमा सजाय पाएको,
(च) सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूरमा सजाय पाएको,
(छ) यातना वा क्रुर, निर्मम, अमानवीय वा अपमानजनक व्यवहार सम्बन्धी कसूरमा सजाय पाएको,
(ज) मानवता विरुद्धको अपराध सम्बन्धी कसूरमा सजाय पाएको,
(झ) राज्य विरुद्धको अपराध सम्बन्धी कसूरमा सजाय पाएको ।
स्पष्टीकरण- यस दफाको प्रयोजनको लागि “प्यारोल” भन्नाले आफूलाई तोकिएको कैद सजायको दुई तिहाइ अवधि भुक्तान गरिसकेको कैदीलाई बाँकी अवधि तोकिएको शर्त पालना गरी प्यारोल अधिकृतको निगरानीमा समाजमा जीवन यापन गर्न अनुमति दिइएको अवस्था सम्झनु पर्छ ।
(२) उपदफा (१) बमोजिम आदेश गर्दा प्यारोलमा रहेको अवधिमा त्यस्तो कसूरदारले पालना गर्नु पर्ने भनी प्रोवेशन तथा प्यारोल बोर्डले निर्धारण गरेका शर्तहरु समेत तोकिदिनु पर्नेछ ।
(३) उपदफा (२) बमोजिमका शर्तहरु सम्बन्धित कसूरदारले पालना गरे वा नगरेको अनुगमन प्यारोल अधिकृतले गर्नेछ ।
(४) उपदफा (१) बमोजिम प्यारोलमा रहेको कसूरदारले उपदफा (२) बमोजिमको शर्त पालना गरेमा निजलाई तोकिएको कैद सजाय भुक्तान भएको मानिनेछ ।
(५) उपदफा (१) बमोजिम प्यारोलमा रहेको कसूरदारले उपदफा (२) बमोजिमको शर्त पालना नगरेमा वा त्यस्तो अवधिमा कैद सजाय हुने कुनै कसूर गरेमा निजले आफूलाई तोकिएको बाँकी कैद सजाय कारागारमा बसी भुक्तान गर्नु पर्नेछ ।
(६) प्यारोल सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।